धादिङ, वैशाख २६ – वैशाख १२ गते गएको भूकम्प पीडितका लागि देशका विभिन्न क्षेत्रमा राहत संकलन भएको छ । यही क्रममा तराईका आमाहरुले पहाडका सुत्केरीका लागि राहत सामाग्री पठाएका छन् ।
भूकम्पका कारण पहाड ध्वस्त भयो । सुत्केरी र गर्भवतीले थप समस्या खेपिरहेका छन् । बालबच्चा बिरामी परिरहेको अवस्था छ । महिलाले पहाडमा समस्या भोगरिहेको देख्न नसकेर थोरै भएपनि सहयोग गर्न मन लागेर आफूहरुले सहयोग उठाएर पहाडमा ल्याएको सिरहाबाट राहत संकलन गरेर पहाड आउनुभएकी रेणु कर्णले बताउनुभयो ।
‘पहाडलाई पर्दा तराईले सहयोग नगरे कसले गर्छ ? एकले पर्दा अर्कोले सहयोग गर्नु हामी नेपालकिो संस्कृति नै हो’ कर्ण भन्नुभयो । तराईका आमहरुले घर घरबाट दाल, चामल, चिउरा, नुन, तेल, गेडागुडी, आलु, लगाउने कपडा लगायतका सामाग्री संकलन गरेर पहाडमा पठाएका हुन् । उनीहरुले घरमा भएको थोरै थोरै सामाग्री समेत पहाडमा खानेकुराको अभावमा सुत्केरी र गर्भवतीको ज्यान जोगियोस भनेर पठाएको महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य देबकुमारी महराले बताउनुभयो ।
सुत्केरी र गर्भवतीका लागि आवश्यक तेल, चामल, चिउर, दाल, गेडागुडी, आलु, नुन, आदी सामाग्री धादिङको खानीखोलामा ल्याएर सुत्केरी र गर्भवतीका लागि राहत वितरणमा काम गरिरहेकी राधिका सापकोटालाई हस्तान्तरण गर्दै तराईका आमाहरुले ल्याएको सामाग्री गाउँसम्म पुर्याउन आग्रह गरे ।
यसैगरी केवलपुर गाविसमा पुगेर पूर्व मन्त्रि अनिल झा ले सहयोग गर्दै तराईले पहाडलाई र पहाडले तराइलाई सहयोग गर्नु पर्ने बताउनुभयो । राष्ट्रियता र नागरिकलाई परेको समस्यामा आफू चुप लागेर बस्न नसक्ने भन्दै उहाँले गाउँमै आएर सहयोग उपलब्ध गराउनुभएको हो ।
-सीताराम अधिकारी/उज्यालो ।
No comments:
Post a Comment