पब्लिक न्युज नेपाल

Saturday, May 9, 2015

महाभूकम्पले लग्यो ७,९१२ को ज्यान

 वैशाख २६ - गत वैशाख १२ गते शनिवार गोरखाको वारपाकमा केन्द्रविन्दु बनाएर गएको ७.९ रिक्टरस्केलको विनाशकारी महाभूकम्प र आइतवार सिन्धुपाल्चोकमा केन्द्रविन्दु बनाएर गएको ६.७ रिक्टरस्केलको शक्तिशाली पराकम्पनले भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार नौ सय १२ पुगेको

प्रहरी प्रधानकार्यालयले जनाएको छ । प्रहरी स्रोतले दिएको पछिल्लो जानकारी अनुसार १६ हजार ३७ जना घाइते भएका छन् ।
महाभूकम्पमा परी ज्यान गुमाउनेहरुमा उपत्यकामा १ एक हजार ७ सय १३, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ५ हजार ७ सय २८, पश्चिम क्षेत्रमा ४ सय १६ र मध्यपश्चिम क्षेत्रमा २ जना रहेको नेपाल प्रहरीले जनाएको छ। यसैगरी घाइते हुनेहरुमा उपत्यकामा ९ हजार २२, पूर्व क्षेत्रमा ३ सय २७, मध्य क्षेत्रमा ५ हजार ४ सय ७३, पश्चिम क्षेत्रमा १ हजार ४६ र मध्य पश्चिम क्षेत्रमा २२ जना रहेका छन्।
भुकम्पमा ज्यान गुमाउनेमा नेपाल प्रहरी ५, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी पर्यटक ७० जना रहेको स्रोतले जनाएको छ । त्यस्तै नेपाल प्रहरी एक सय ४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जना घाइते रहेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म नेपाल प्रहरीका एक सहित दुई सय ५४ नेपाली नागरिक तथा एक सय ११ विदेशी नागरिक हराइरहेका छन् ।

ल क्याम्पसमा ओलीले चटपटे खाए, २० रुपैंयाको सट्टा ९ हजार तिरे

वैशाख २६ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २० रुपैंया पर्ने चटपटेलाई ९ हजार रुपैंया तिर्नुभएको छ । चटपटेवालाले उहाँलाई ठगेका होइनन् । उहाँ आफैंले २० रुपैंयाको सट्टा ९ हजार दिनुभएको हो । चटपटेलाई ९ हजार रुपैंया तिर्नुको पनि आफ्नै कारण छ ।
भूकम्प पीडितलाई राहत र सहयोग संकलन गर्ने क्रममा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ल क्याम्पसमा नयाँ अभियान सुरु गरेको छ । तीन दिनदेखि अखिलका विद्यार्थीले क्याम्पसको गेटमा चटपटे बेच्न सुरु गरेका छन् । चटपटे बेचेर संकलन भएको रकम भूकम्प पीडितलाई दिने उनीहरुको योजना छ । 
शनिबार बिहान ल क्याम्पसमै अनेरास्ववियुले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओली उपस्थित हुनुभएको थियो । क्याम्पसभित्र पस्ने क्रममा उहाँले अखिलका विद्यार्थीले थालेको अभियानलाई समर्थन जनाउनुभयो । उनीहरुको काममा उत्साह थप्नेगरी चटपटे किन्नुभयो र भूकम्प पीडितको सहयोगको लागि ९ हजार रुपैंया दिनुभयो । 
‘उहाँले हामीलाई उत्साह बढाउनेगरी सहयोग गर्नुभएको हो’ अनेरास्ववियुकी महासचिव राधिका खतिवडाले भन्नुभयो, ‘उहाँको यो सहयोगले हामीलाई अझै प्रेरणा मिलेको छ ।’
अखिलले भूकम्प प्रभावित बिभिन्न १२ जिल्लामा स्वयंसेवक टोली पनि परिचालन गरेको छ । हरेक टोलीमा ९/९ जना सहभागी छन् ।
उनीहरु जिल्ला कमिटीको सहयोग लिएर भूकम्पका कारण भत्किएका विद्यालय भवनमा अस्थायी टहरा बनाउने खतिवडाले जानकारी दिनुभयो । उनीहरु महिना दिनसम्म जिल्लामै बस्छन् ।जिल्ला जान लागेका अखिलका टोलीलाई बिदाई गर्दै पार्टी अध्यक्ष ओलीले प्रचारभन्दा मेहनतका साथ काम गर्न निर्देशन दिनुभयो । 
-उज्यालो

Friday, May 8, 2015

एक लाखमा भूकम्प प्रतिरोधी बनाउने उद्योग वाणिज्य महासंघको प्रस्ताव

धादिङ, वैशाख २६ – नेपाल उद्योग वाणिज्य महासंघले एक लाख रुपैयाँमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने प्रस्ताव अघि सारेको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवहाक अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष कुशकुमार जोशी सहितको टोली धादिङ सदरमुकम आएर यस्तो प्रस्ताव गरेको हो । 
गाउँमै पाइने बाँस, ढुंगा, माटोबाट भूकम्प प्रतिरोधी घर बनाउन सकिने र यसका लागि घरवाला आफैले स्थानीय सामाग्री खोजेर काम गरेमा एक लाख रुपैयाँमा घर बनाउन सकिने महासंघका पूर्वअध्यक्ष जोशीले बताउनुभयो ।

सबै काम अरु मानिसलाई लगाउँदा चार लाख रुपैयाँ पर्ने र आफैले काम गर्दा एक लाखमा बन्ने र्भकोले यस्तो कार्यमा सरकारसँग मिलेर काम गर्ने उद्योग वाणिज्य महासंघको प्रस्ताव छ । जिल्ला सदरमुकाम आइपुगेको महासंघको टोलीले सरकारको उपयुक्त निति र साझेदारीमा काम गर्ने योजना भएमा आफूहरु पनि काम गर्न इच्छुक रहेको बताएको हो ।
भूकम्प प्रतिरोधी घर निर्माण गर्ने र पेशा व्यवसायबाट पन्छिएकाहरुलाई तुरुन्त आफ्नो व्यवसायमा फर्कने वातावरण बनाउन लागि सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको महासंघका कार्यबहाक अध्यक्ष मुरारकाले बताउनुभयो ।
-उज्यालो

पहाडका भूकम्प पीडितलाई तराईका आमाहरुको सहयोग

धादिङ, वैशाख २६ – वैशाख १२ गते गएको भूकम्प पीडितका लागि देशका विभिन्न क्षेत्रमा राहत संकलन भएको छ । यही क्रममा तराईका आमाहरुले पहाडका सुत्केरीका लागि राहत सामाग्री पठाएका छन् ।
भूकम्पका कारण पहाड ध्वस्त भयो । सुत्केरी र गर्भवतीले थप समस्या खेपिरहेका छन् । बालबच्चा बिरामी परिरहेको अवस्था छ । महिलाले पहाडमा समस्या भोगरिहेको देख्न नसकेर थोरै भएपनि सहयोग गर्न मन लागेर आफूहरुले सहयोग उठाएर पहाडमा ल्याएको सिरहाबाट राहत संकलन गरेर पहाड आउनुभएकी रेणु कर्णले बताउनुभयो ।
‘पहाडलाई पर्दा तराईले सहयोग नगरे कसले गर्छ ? एकले पर्दा अर्कोले सहयोग गर्नु हामी नेपालकिो संस्कृति नै हो’ कर्ण भन्नुभयो । तराईका आमहरुले घर घरबाट दाल, चामल, चिउरा, नुन, तेल, गेडागुडी, आलु, लगाउने कपडा लगायतका सामाग्री संकलन गरेर पहाडमा पठाएका हुन् । उनीहरुले घरमा भएको थोरै थोरै सामाग्री समेत पहाडमा खानेकुराको अभावमा सुत्केरी र गर्भवतीको ज्यान जोगियोस भनेर पठाएको महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य देबकुमारी महराले बताउनुभयो ।
सुत्केरी र गर्भवतीका लागि आवश्यक तेल, चामल, चिउर, दाल, गेडागुडी, आलु, नुन, आदी सामाग्री धादिङको खानीखोलामा ल्याएर सुत्केरी र गर्भवतीका लागि राहत वितरणमा काम गरिरहेकी राधिका सापकोटालाई हस्तान्तरण गर्दै तराईका आमाहरुले ल्याएको सामाग्री गाउँसम्म पुर्‍याउन आग्रह गरे ।
यसैगरी केवलपुर गाविसमा पुगेर पूर्व मन्त्रि अनिल झा ले सहयोग गर्दै तराईले पहाडलाई र पहाडले तराइलाई सहयोग गर्नु पर्ने बताउनुभयो । राष्ट्रियता र नागरिकलाई परेको समस्यामा आफू चुप लागेर बस्न नसक्ने भन्दै उहाँले गाउँमै आएर सहयोग उपलब्ध गराउनुभएको हो ।
-सीताराम अधिकारी/उज्यालो ।

घरभाडा वृद्धि गरेको भन्ने सूचना प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण : गृह

वैशाख २६ – गृह मन्त्रालयले भूकम्पबाट जनधनको क्षति भएको अवस्थामा काठामाडौंका केही घरधनीले घरभाडा वृद्धि गरेको भन्ने सूचना प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले पीडामा परेका व्यक्ति तथा समुदायलाई सहयोग गर्नुपर्नेमा विषम परिस्थितिको फाइदा उठाउँदै घरभाडा वृद्धि गर्ने जस्ता कार्य सामाजिक, नैतिक र कानूनी दृष्टिकोणबाट समेत अनुपयुक्त हुने भएकाले त्यस्ता कार्य नगर्न नगराउन आग्रह गरेको छ ।
ृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले कोही कसैबाट त्यस प्रकारको कार्य गरेको सूचना प्राप्त भएमा नजिकको सुरक्षा निकाय तथा नेपाल प्रहरीको टेलिफोन नम्बर १००, गृह मन्त्रालयको आपतकालीन कल सेन्टरको टेलिफोन नम्बर १२३४ र सशस्त्र प्रहरीको टेलिफोन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गर्नुभयो ।
मन्त्रालयले विपदको समयमा फाइदा उठाइ घरभाडा वृद्धि गर्ने जस्ता कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिएको छ । रासस

बेलायतको आम चुनावमा क्यामरुनको पार्टीलाई बहुमत

वैशाख २५ – बेलयतमा भएको आम चुनावमा कन्जर्भेटिभ पार्टीले बहुमत हासिल गरेको छ । कुल ६ सय ५० सिट मध्ये ६ सय ४० सिटको नतिजा घोषणा हुँदासम्ममा कन्जर्भेटिभले ३ सय २६ सिटमा जित हासिल गरेको छ । लेबर पार्टीले २ सय २८ सिटमा जित हासिल गरेको छ ।
सरकार बनाउनका लागि संसदको तल्लो सदन हाउस अफ कमन्समा ३ सय २६ संसदको समर्थन चाहिन्छ । जुन कन्जर्भेटिभले जिति सकेको छ । कन्जर्भेटिभ पार्टीका नेता डेभिड क्याम्रुनले पार्टी कार्यकर्तालाई अहिलेको जित पछिल्लो एक पिँढीकै सबै भन्दा उत्कृष्ट रहेको बताउनुभएको छ ।
उहाँले बेलायलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाउनुभयो । यसैबीच लिबरल डेमोक्रेटिक पार्टीले चुनावमा नराम्रो हार व्यहोरेको छ । पार्टीले अहिलेसम्म जम्मा ८ सिटमा जित हासिल गरेको छ । चुनावी हारपछि लिबरल डेमोक्रेटिक पार्टीका नेता निक क्लेगले पार्टी नेताको पदबाट राजिनामा दिनुभएको छ ।

– एजेन्सीको सहयोगमा

भक्तपुरका एक सय १६ सम्पदा नष्ट

वैशाख २५ – बिनाशकारी भूकम्पका कारण ऐतिहासिक शहरको रुपमा रहेको भक्तपुर नगरभित्र १ सय १६ वटा सम्पदामा क्षति पुगेको छ । यस नगरभित्र रहेका सम्पदा मध्ये ६७ वटा सम्पदामा पूर्ण रुपमा क्षति भएको र ४९ वटा सम्पदामा आंशिक क्षति पुगेको भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिनुभयो ।

पूर्ण रुपमा क्षति भएका भक्तपुर नगरपालिका भवन, फसि देग, रामेश्वर मन्दिर, वतसला मन्दिर, नारायण मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, विश्वरुपा मन्दिर, सिद्धिगणेश मन्दिर, श्वेतभैरब मन्दिर, सिजमहादेव, देगइना मन्दिर, ब्रम्हायणी मन्दिर रहेका छन् ।
त्यस्तै हनुमानघाट स्थित १२ वटा मन्दिर तथा शिवालय, भक्तपुरका विभिन्न देवताको घर अर्थात द्यो : छे, सत्तल, पाटी, पुजारी मठमा पूर्ण रुपमा क्षति पुगेको छ । पूर्ण रुपमा क्षति पुगेको सम्पदाको पुननिर्माण नै गर्नुपर्ने र आंशिक क्षति भएका सम्पदाको मर्मत गर्नु पर्ने बताउँदै उहाँले नगरपालिकाले निकालेको प्रारम्भिवक लगत अनुमान अनुसार भक्तपुरका सम्पदाको पुननिर्माण एवं मर्मत गर्नका लागि २९ करोड ३२ लाख रुपैयाँ लाग्ने कार्यकारी अधिकृत रिजालले बताउनुभयो ।
धेरैजस्तो विश्वसम्पदा सूचीमा रहेको दरबारस्क्वायर क्षेत्रमा महत्वपूर्ण सम्पदामा नराम्रोसँग क्षति पुगेको जानकारी दिँदै तलेजुका नाइके नरेन्द्रप्रसाद जोशीले भत्किएका सम्पदाका पुरातात्विक सामाग्रीको संरक्षण अति आवश्यक रहेको बताउनुभयो ।
भूकम्पले तलेजु मन्दिरको मुलचोक परिसरमा पनि क्षति पुर्‍याएको जानकारी दिँदै उहाँले सम्पदा संरक्षणमा सबै निकाय छिटो लाग्नु पर्ने जोशीले बताउनुभयो । राष्ट्रिय कला संग्रहालयकी प्रमुख अरुणा नकर्मीले भत्किएका सम्पदाका महत्वपूर्ण सामाग्री, मन्दिर तथा बहुमूल्य सामानहरुको सुरक्षा गरिसकेको जानकारी दिनुभयो ।

रमेश गिरी/उज्यालो ।

भत्किएका घर बनाउन सरकारले दुई लाख रुपैयाँ दिने

 वैशाख २५ – सरकारले भूकम्पले घर भत्काएका पीडितलाई सरकारी मापदण्ड अनुसार घर बनाउन दुई लाख रुपैयाँ अनुदान दिने भएको छ । व्यवस्थापिका संसदको अधिवेशनलाई विशेष सम्वोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पले भत्काएका घर सरकारी मापदण्ड अनुसार आफै बनाउनेलाई दुई लाख रुपैयाँसम्म राहत उपलब्ध गराउने जानकारी दिनुभएको हो ।
कुनैपनि नागरिकलाई अभिभावक बिहिनताको महसुस हुन नदिने भन्दै प्रधानमन्त्री कोइरालाले प्रभावित क्षेत्रका बासिन्दाको खाद्यान्न, शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने घोषणा पनि गर्नुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रका नागरिकले लिएको ५५ हजारसम्मको ऋणको सावा तथा ब्याज मिनाहा गर्ने घोषणा पनि गर्नुभयो ।
सम्वोधनमा प्रधानमन्त्री कोइरालाले घर भत्किएका नागरिकलाई काठमाडौंभित्र २५ लाखसम्म र बाहिर १५ लाखसम्म दुई प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने जानकारी दिनुभयो । भूकम्पले भत्काएका प्राकृतिक सम्पदा सहितका संरचना ५ वर्षभित्र पुनर्निमाण गरिसक्ने योजना बनाएको जानकारी दिँदै प्रधानमन्त्री कोइरालाले पुनर्निमाण र पुनर्स्थापनाको काममा निजामती कर्मचारी र सुरक्षाकर्मीको टोली परिचालन हुने पनि बताउनुभयो ।  
विपत्तिका बेलामा रहेको देशलाई राहत दिन तथा राष्ट्र निर्माणमा जुट्न सबैलाई सरकारले आह्वान पनि गरेको छ । सम्वोधनमा प्रधानमन्त्री कोइरालाले देशभित्र र बाहिरका सबै नेपाली  तथा दातृ निकायलाई पनि राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुभयो । ‘पीडालाई उर्जामा बदलेर पुननिर्माण र पुनर्स्थापनामा जुटौं’ प्रधानमन्त्री कोइरालाले भन्नुभयो ‘तर यसका लागि परम्परागत तरिकाले काम गरेर मात्र पुग्दैन ।’
सरकारले भूकम्प प्रभावित क्षेत्रका किसानलाई निशुल्क विउबिजन र सहुलियतमा मल वितरण गर्ने पनि प्रधानमन्त्रीको सम्वोधनमा उल्लेख छ । यी सबै कामका लागि संयोजन राष्ट्रिय योजना आयोगले गर्ने र त्यसै अनुसार नयाँ बजेटपनि पुननिर्माण गरिने प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । त्यस्तै सरकारले देश पुननिर्माणका लागि राष्ट्रिय ऋणपत्र जारी गर्ने र त्यसमा सबै नेपालीले लगानी गर्न सक्ने पनि बताएको छ ।
त्यसैगरी मन्त्री परिषद बैठकले यसअघि नै निर्णय गरेको दुई खर्बको राष्ट्रिय पुननिर्माण कोषको सीमा पनि बढ्न सक्ने प्रधानमन्त्रीले बताउनुभयो । यो कामका लागि देशभरिको मात्र स्रोतसाधन पर्याप्त नहुने भन्दै सरकारले छिट्टै दातृ सम्मेलन गर्नेप्रधानमन्त्री कोइरालाले उल्लेख गर्नुभएको छ ।
सरकारले भु–उपयोग नीति र भवन संहिताको पुनरावलोकन गरी त्यसलाई कडाइका साथ लागु गराउने पनि प्रधानमन्त्रीको सम्वोधनमा उल्लेख छ । त्यस्तै पीडितको तथ्यांक संकलन गरी उनीहरुलाई परिचयपत्र वितरण गर्ने  र उनीहरुलाई रोजगारीमा प्राथमिकता दिइने पनि प्रधानमन्त्रीले बताउनुभयो । यसमा देश विदेशमा भएका नेपाली तथा अरु देशका नागरिकले पनि रकम संकलन गर्न सक्नेछन् ।

जेल बस्नु परेन सलमान खान

वैशाख २५ – बलिउड अभिनेता सलमान खानले जेल जानु नपर्ने भएको छ । गाडी चलाउँदा मान्छे हानेर भागेको मुद्दामा अभिनेता सलमानले गरेको धरौटीमा छुट्न पाउने अपिललाई मुम्बई उच्च अदालतले स्वीकार गरेको छ । योसँगै सलमानले अब जेल बस्नु नपर्ने भएको हो ।
सलमानले अदालतमा पेश गरेको धरौटीमा छुट्न पाउनु पर्ने अपिलमा सुनुवाइ गर्दै अदालतले यस्तो फैसला गरेको हो । अदालतको यो फैसलापछि सलमानलाई अब हिरासतमा लिइने छैन । उनले जेल बाहिरै रहेर आफ्नो मुद्दा लड्न पाउने छन् ।
सलमानलाई ३० हजार भारतीय रुपैयाँ धरौटीमा छाडिएको सरकारी वकिल प्रदीप घरातले जानकारी दिएका छन् । अदालतले सलमानलाई धरौटीमा छाडेपनि तत्कालका लागि उनलाई विदेश जानबाट भने रोक लगाएको छ । यसअघि बुधबार मुम्बईको तल्लो अदालतले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । अदालतको यो फैसला विरुद्ध सलमानका वकिलले उच्च अदालतमा अपिल गरेका थिए ।
सलमानमाथि सन् २००२ सेप्टेम्बर २८ को राति रक्सीले मातेर गाडी चलाएको आरोप लागेको थियो । सलमानले आफ्नो गाडी सडक पेटीमा सुतेका व्यक्तिमाथि कुदाएको र त्यसबाट एक जनको ज्यान गएको तथा अन्य चार जना घाइते भएको आरोप थियो । 

– एजेन्सीको सहयोगमा

भूकम्प प्रभावितलाई पाल पनि नदिएको भन्दै सभासदद्वारा सरकारको आलोचना

वैशाख २५ – सभासदले भूकम्प गएको दुई हप्ता बितिसक्दा पनि ग्रामिण भेगका भूकम्प प्रभावितलाई एउटा पालसम्म दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
व्यवस्थापिका संसदको विकास समितिको शक्रबार सिंहदरबारमा बसेको बैठकमा सभासदले भूकम्प प्रभावितहरुलाई राहत उपलब्ध गराउने विषयमा सरकार गम्भीर नदेखिएको आरोप लगाए । उनीहरुले भूकम्प गएको दुई हप्ता बित्दा पनि प्रभावितले पालसम्म नपाउनुले सरकार राहत वितरणप्रति गम्भीर नभएको देखिएको बताए ।
उनीहरुले मानवीय क्षति भएका र नभएका सबै ठाउँका घरहरु बस्न नसकिने खालका भएको भन्दै सबै प्रभावितलाई समानरुपमा राहत उपलब्ध गराइनुपर्ने बताए । सत्तारुढ दलका सभासदले भूकम्प प्रभावितलाई जतिसक्दो छिटो पाल र पर्याप्त खाद्यान्न उपलब्ध नगराइए केही समयपछि सुरु हुने मनसुनले अर्को ठूलो विपत्ति निम्त्याउने भन्दै भूकम्प प्रभावितको पीडालाई सरकारले तत्काल सम्बोधन नगरे मन्त्रीहरुलाई गाउँगाउँमा लगेर कालोमोसो दल्ने चेतावनी दिए ।
जवाफमा उपप्रधानमन्त्री तथा स्थानीयविकास मन्त्री प्रकाशमान सिंहले भने सरकारले भूकम्प प्रभावित सबै क्षेत्रमा पाल र खाद्यान्न पु¥याएको दाबी गर्दै सरकारले नै दिएको पालमा ओत लागिरहेकाले पाल नपाएको गुनासो गरेको बताउनुभयो । उहाँले भूकम्पबाट ठूलो क्षति भएका कारण नागरिकको अपेक्षा धेरै भएको भन्दै केही नगरेको भनेर आलोचना गर्नुभन्दा सबैले सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
समितिले जनसहभागितामा आधारित योजनाका लागि जिल्ला विकास समितिमा पठाइएको बजेट रकमान्तर गरेर भुकम्प प्रभावितको राहत र पुनर्स्थापनामा खर्च गर्न स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

पाकिस्तानमा हेलिकप्टर दुर्घटना हुँदा नर्वे र फिलिपिन्सका राजदूतको मृत्यु

वैशाख २५ – पाकिस्तानमा हेलिकप्टर दुर्घटना हुँदा कम्तिमा ६ जनाको ज्यान गएको छ । उत्तरी पाकिस्तानमा भएको हेलिकप्टर दुर्घटनामा नर्वे र फिलिपिन्सका राजदूतसँगै कम्तिमा ६ जनाको ज्यान गएको पाकिस्तानी सेनाले जनाएको छ ।
उत्तरी पाकिस्तानको नालटार क्षेत्रमा आकस्मिक अवतरण गर्ने क्रममा सैनिक हेलिकप्टर दुर्घटना भएको हो । कास्मिरको विवादित क्षेत्र गिलगित–बाल्टिस्तान अवलोकनका लाग गएका राजदूत चढेको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनाको कारण खुल्न सकेको छैन ।

– एजेन्सीको सहयोगमा

Wednesday, May 6, 2015

नुवाकोटको कुमरीमा राहत वितरणमा विभेद

यही वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट घरवारविहीन काठमाडौँको उत्तर–पश्चिम दिशामा अवस्थित नुवाकोट जिल्लाको कुमरी गाविसका पीडितले राहत सामग्रीमा विभेद भएको गुनासो गरेका छन् ।
nrn-nuwakot -2काठमाडौँबाट करिब २८ किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा सरकारले भूकम्पपीडितका लागि चाँडै पुर्याउनुपर्ने राहतमा ढिलाइ भएको र विभिन्न राजनीतिक पार्टीका नाममा स्थापना भएको संयन्त्रले आ–आफ्ना मतदातालाई राहत वितरणको प्रयास गरेकाले गाउँका बासिन्दाले चिन्ता गरेका हुन् ।
सो गाविसमा पछिल्लो निर्वाचनको क्रममा एक हजार ७५८ घरधुरी रहेको भएपनि अहिले दुई हजार २०० घरधुरी रहेको स्थानीयवासी बताउँछन् । भूकम्पका कारण १२ जनाले ज्यान गुमाएका थिए भने त्यहाँका अधिंकाश घर पूर्णरूपमा ध्वस्त भएका छन् । केही रहेका घर पनि चर्केका तथा आंशिक भत्केका छन् । भूकम्पकै कारण घरलाई क्षति पुगेपछि मानिस घरमा जानसक्ने र भएका खाद्य सामग्री तथा अन्य सरसामान झिक्न सक्ने अवस्था छैन ।विभिन्न सङ्घ संस्थामार्फत आएका राहतका सामग्री स्थानीय राजनीतिक संयन्त्रलाई विश्वास नगरी बाँड्न समस्या छ ।
स्थानीयवासी भीमप्रसाद न्यौपानेले हुनेखाने तथा टाठाबाठाले राहत तथा सहयोग पाउने गरेको तर वास्तविक गरिब तथा पीडितले पाउन नसकेको बिलौना गरे । उनले आफ्नो घर भत्किएर ८२ वर्षीय आमालाई खुला आकाशमुनि राख्नु परेकोमा दुःख पोख्दै पहुँचवाला तथा स्थानीय नेता र नजिकका मानिसले ठाउँ ठाउँमा वितरण गरिएको राहत लिने गरेकोमा दुःख व्यक्त गरे ।
इँटा र माटोबाट बनाइएका पुराना घर चर्किएका, घर बाहिरबाट हेर्दा सामान्य जस्तै देखिए पनि आवश्यक मर्मत नगरी त्यहाँ प्रवेश गर्न कसैले आँट गर्दैनन् । आफ्ना घर र वासस्थान गुमाएकाहरू अझै सामूहिक त्रिपालमुनि आश्रित छन् । बेला–बेलामा गइरहेका भूकम्पका सानाठूला धक्काले जीवन सुरक्षाको चिन्ता र त्रास उनीहरुमा पाइन्छ ।
स्थानीयवासी देवकी तिमल्सिनाले भनिन्, ‘उक्त स्थानमा राम्रो कृषि उत्पादन हुने हुँदा आर्थिक रुपमा हरेक सम्भावना छ, गाउँलेले कसैसित दुई-चार किलो चामल माग्नुपर्ने ठाउँ होइन । अहिले परिस्थितिले भएको खाद्य सामग्री माटोमा पुरिएर समस्या आइलागेको हो ।’
भूकम्प पीडितलाई आएको राहत सामग्री वास्तविकले नभई अर्कैले लगेकोमा चिन्ता गर्दै उनले खानभन्दा पनि पालको आवश्यकता रहेकाले छिटोभन्दा छिटो यसको व्यवस्था गरिदिन माग गरिन् ।
विशेषगरी अधिकांश क्षेत्री, ब्राह्मण तथा तामाङका साथै दलित समुदायको मिश्रित् बसोवास रहेको यो गाविस नुवाकोट सदरमुकामबाट टाढा र पिछडिएको छ । पहाडी क्षेत्रको बीचमा यत्रतत्र छरिएको समथर बेसी र टारलगायतको भौगोलिक विशेषता पाइन्छ । पहाडी भू–भागको अंश ७१ प्रतिशत, लेकाली भू–भागको अंश १८ प्रतिशत, टारवेसी र समथर भू–भागको अंश ११ प्रतिशत छ ।
स्थानीय पत्रकार रामकृष्ण पौडेलले पीडितलाई आएको राहत पारदर्शी ढङ्गबाट गरिनुपर्नेमा जोड दिँदै राहत वितरण कार्यमा पहिले जानेले पाउने र पछि पर्नेले नपाउने अवस्थाको अन्त्य गर्न अभिलेख राख्नुपर्ने सुझाव दिए ।
त्यसैगरी, स्थानीयवासीको समस्या बुझ्न त्यहाँ पुगेका नेपाली काँग्रेसका नेता एवम् सभासद् अर्जुन नरसिंह केसीले पीडितका लागि आएको राहत अपर्याप्त भएको र बाँडफाँड कार्यमा पद्धतिको पनि विकास नभएकाले समस्या आएको विचार व्यक्त गर्दै असहज स्थिति आउन नदिनका लागि सरकारले तत्काल लगानी बढाउनुपर्नेमा जोड दिए ।
प्रहरीचौकी कुमरीका अनुसार सरकारले पठाएको राहतस्वरुप स्थानीय बासिन्दा ७९९ ले प्रतिपरिवार रु दुई हजार लगिसकेका छन् । तर पनि स्थानीय ठाकुर ढुङ्गानाले सो रकम तथा कुनै पनि संस्थाले पठाएको राहत प्राप्त गर्न नसकेको बताए । प्रहरी सहायक निरीक्षक अशोककुमार सिंहले अरु रकम निकासा भएपछि लिन बाँकी रहेकालाई उपलब्ध गराइने बताए ।
रिड नेपालले उक्त स्थानमा पुस्तकालय निर्माण गरी समुदायलाई सञ्चालन गर्न दिएको र स्थानीयवासीलाई राहत सहयोग उपलब्ध गराएको छ । सुत्केरीलाई आवश्यक पर्ने सामग्री तथा पाल, म्याट र बाल्न मिल्ने लाइटलगायतको सहयोग अहिले उपलब्ध गराएको छ ।
सो संस्थाका वरिष्ठ अधिकृत चिनकाजी श्रेष्ठले पुस्तकालयलाई माया गर्ने स्थानीयवासीलाई अहिले विपद् आई समस्या परेकाले करिब रु ५५ लाखको राहत सहयोग उपलब्ध गराइने योजना रहेको बताए । रासस

Tuesday, May 5, 2015

एक वर्ष सम्मको पारिश्रमिक भुकम्प पिडीतलाई दिने सभासद पाण्डेको घोषणा

आशिष ठकुरी बैशाख २३ — धादिङ क्षेत्र नम्बर ३ का एमाले सभासद राजेन्द्र प्रसाद पाण्डेले एक वर्ष सम्म आफुले पाउने सम्पुर्ण पारिश्रमिक भूकम्प पीडितहरुका लागि प्रदान गर्ने घोषणा गर्नुभएको छ । रेडियो राजमार्ग ९२.१ मेगाहर्जको महाभुकम्प विशेष कार्यक्रममा बोल्नुहुँदै पाण्डेले रेडियो राजमार्ग बाटै पहिलो पटक भूकम्प पीडितहरुका लागि उक्त सहयोग गर्ने घोषणा गर्नुभएको हो । 

 यसैगरी उहाँले गत बैशाख १५ गते आफ्नो छोराको बिवाह स्थगित भएको र बिवाहका लागि छुट्याएको मध्ये ५ लाख रुपैँया भुकम्प पिडीतहरुकै लागी खर्च गर्ने बताउनुभयो । स्थानिय विकास मन्त्री समेत भईसक्नुभएका पाण्डेले पार्टीको तर्फबाट भुकम्प पिडीतहरुलाई घर निर्माणका लागी कम्तीमा १ लाख रुपैँया र कम्तीमा ५ लाख रुपैँया १० वर्ष सम्म ब्याज तिर्न नपर्ने गरी ऋण दिनुपर्छ भन्ने प्रस्ताव अघि सारेको बताउनुभयो ।
   हरेक परिवारमा ऋण, अनुदान गरेर करीब १० लाखको प्याकेज ल्याएर देशलाई अब बिस्तारै विकासको गति तर्फ धकेल्नुपर्ने सभासद पाण्डेको भनाई छ  । २४ गते विहिबार हुने सँसदको विशेष अधिवेशन बाट भुकम्प पिडित जनताको लागी विशेष प्याकेजको निर्णय गर्ने पनि उहाँले बताउनुभएको छ ।  

महादेवस्थानमा राहत वितरण सुरु

अर्चिता उप्रेती
२२ बैशाख, महादेवस्थान — धादिङको महादेवस्थान गाउँ विकास समितीमा भुकम्प पिडीतहरुका लागि राहत वितरण मँगलबार देखी सुरु भएको छ । गाउँ विकास समितीका सचिव रमेश पौडेलको अध्यक्षतामा बसेको बैठकले राहत वितरणको निर्णय गरेपछि जिल्ला दैविक प्रकोप उद्धार समिती धादिङबाट आएको राहत रकम गाविसका १ सय ३० घरधुरीलाई वितरण गरीएको हो । 

 गाविसका कुल १ हजार ४ सय २२ घरधुरी मध्ये ४ सय १० भुकम्पका कारण पुर्ण रुपमा र एक हजार बाईस घरधुरी आँशिक रुपमा क्षति भएका छन् । पुर्ण रुपमा क्षति भएका ७७ घरधुरी मध्ये  प्रत्येक घरधुरीलाई ७ हजार र आँशिक क्षति भएका ५३ घरधुरीलाई ३ हजार राहत वितरण गरीएको छ । मँगलबार   गाविसको ३, ६ र ७ वडाका १ सय ३० घरधुरीलाई ६ लाख ९८ हजार रुपैँया राहत वितरण गरीएको गाविसले जनाएको छ । यसैगरी गाविसका २ सय ९३ घरधुरीले चामल, चिउरा लगायतका खाद्यान्न सामाग्री राहत पाएका छन् भने  १ सय तिन .घरधुरीले मात्र त्रिपाल पाएका छन । महादेवस्थान गाविसमा कुनै मानविय क्षति नभएपनि ४ जना भने सामान्य घाईते भएका छन् ।

 शान्ति नेपाल, प्रयास नेपाल, महादेवस्थान प्रहरी चौकी,  महादेवस्थान स्वास्थ्य चौकी, स्थानिय सहकारी, आमा समुह सञ्जाल विद्यालयका शिक्षक लगायतको सहयोगमा गाविसमा भुकम्प पिडीतहरुको तथ्याङ्क सँकलन गरीएको थियो । तथ्याङ सँकलन बाट वडा नम्बर ४ को लाईपुर र खर्कमा घर, अन्नपात, पशु सहित बढि क्षति भएको पाईएको छ । गाविसका बाँकि क्षेत्रमा राहत वितरण बुधबार देखी जारी रहने गाउँ विकास समितीले जनाएको छ ।